जुवा तास खेल्ने क्रममा सामान्य बिवाद पछि झडप हुदाँ रोल्पाका एकको मृत्यु
बैशाख १५ रोल्पा । रोल्पामा सामान्य बिवादका कारण झडप हुदाँ एक जनाको मृत्यु भएको छ । दक्षिण रोल्पाको जौलीपोखरी ३ दाङचोटमा बिवाहभोज कार्यक्रममा स्थानियबीच एक आपसमा झडप भएपछि एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा जौलिपोखरी ३ दाङचोट निवासी ५७ बर्षिय ओम बहादुर भण्डारी रहेको प्रहरीले जनाएको छ । स्थानियको बिवाहभोज कार्यक्रममा सहभागी हुन गएका भण्डारीलाई स्थानिय बिर बहादुर घर्तीले घाटी थिचेर मारेको हुन सक्ने प्रहरीले आशंका गरेको छ । बिवाह भोजमा सहभागी स्थानियहरु जुवातास खेलेर मनोरञ्जन गर्ने क्रममा सामान्य बिवाद भएपछि भण्डारी र घर्तीको झडप भएको स्थानिय रामशरण महतले बताउनुभयो । झडपले उग्र रुप लिएपछि भण्डारीलाई घर्तीले कुटपिट गरी हत्या गरेका थिए । अभियुक्त घर्तीलाई शुक्रबार बिहान जौलीपोखरीबाट नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय होलेरी रोल्पाले जनाएको छ । मृतक भण्डारीको शवलाई पोष्टमाटमका लागि राप्ती उपक्षेत्रीय अस्पताल घोराही दाङ लगिएको प्रहरीले जनाएको छ । मृतकको पोष्टमार्टम पछि घटनाको थप बिवरण आउने बताइएको छ । घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । भण्डारीको बिहिबार साझ मृत्यु भएको थियो । यता जिल्ला प्रहरी कार्यालय रोल्पाले घाटीं थिचेर हत्या गरेको बताएको छ । साथै हत्यारालाई कानुनी प्रकृया अनुसार कारवाही गरिने जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।